Thursday, April 2, 2015

विश्वलाई स्तब्ध पार्ने एउटा तस्विर

बालक हुडिया
सिरिया विगत चारवर्षदेखि गृहयुद्धको चपेटामा फसेको छ। गृहयुद्धले बाल मस्तिकमा कस्तो डर पैदा गर्छ भन्ने कुरा बुझ्न सोसल मिडियामा भाइरल भइरहेको ४ वर्षे बालिकाको तस्विर हेरे पुग्छ। उनको नाम हुडिया हो ।
सिरियाकी एक समान्य ४ वर्षे बालिका । सिरियामा यस्ता अनगिन्ती बालबालिका युद्धको त्रास झेलिरहेका छन् ।
अहिले सोसल मिडिया र इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध पारिरहेको टर्कीका फोटोग्राफर ओस्मान सगिरलीले यो फोटो खिचेका हुन्। गाजापट्टीकी फोटोपत्रकार नादिया अबु शबानले यो तस्वीर गत मंगलबार ट्विट गरेपछि अहिले यो सोशल मिडियामा भाइरल भएको छ। नादियाको अकाउन्टबाट मात्रै १५ हजार पटक रिट्विट भएको छ। यो तस्वीरलाई देखेर विश्वकै मानिस स्तब्ध भएका छन्। सोसल मिडियामा भावुक सन्देश पोष्ट गरेका छन्।  'मेरो आँखामा आँशु नै अडिएन', 'विश्वास नै भएको  छैन', 'मानवता हारायो' जस्ता टिप्पणीले सोशल मिडिया छाएको छ। यो तस्विर सिरियाको आतेह शरणार्थी शिविरमा खिचिएको हो। यसलाई गत वर्ष डिसेम्बरमा खिचिएको थियो। 'जब फोटो खिच्न क्यामेरा सोझ्याएँ उनको अनुहार झुक्यो। माथिका दाँतले तलको ओठ टोक्दै हात माथि उठे। उनले आत्मसमर्पण गरिन्। त्यसपछि केही मौन भइन्। खासमा म उनको प्रशन्न अनुहारको फोटो आउला भन्ने आशमा थिएँ।
तर बालिकालाई क्यामेरा बन्दुकजस्तो लागेछ। अब गोली चल्नेछ भन्ठानेर उनी डराइन र हात उठाइन', सगिरलीले भने। हुदिया टर्कीको सिमानाबाट दश किलोमिटर टाढा शरणार्थी शिविरमा निरास आमा र दुई जना भाई बहिनीसँग बस्दै आएकी छिन्। 'युद्धको सिरियाका मानिसमा कस्तो असर परिरहेको छ भन्ने कुरा बालिकाको अवस्थाबाट थाहा हुन्छ,' उनले भने । यो तस्वीर पहिलो पटक जनबरीमा टर्कीको एक पत्रिकामा छापिएको थियो। सो पत्रिकामा सगिरी २५ वर्षदेखि काम आएका छन्। त्यो बेला टर्की भाषाका सोसल मिडियामा पनि यसले खुबै चर्चा पाएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा युद्धका कारण पलायन हुने बालबालिकाको संख्या दश लाख पुगेको छ। सिसियामा मार्च २०११ मा युद्धको सुरुवात भएको थियो। २०११ मा राष्ट्रपति असदले सत्ता सम्हालेपछि अहिलेसम्म १७ लाख मानिसले शरणार्थीको रुपमा आफ्नो नाम दर्ता गराएका छन्।
नागरिकन्यूजबाट

No comments:

Post a Comment