Friday, August 10, 2012

भोजपुरका मावि र निमाविमा ३ सय ३० शिक्षक अभाव

ध्रुव सुवेदी
भोजपुर असार २८
भोजपुर जिल्लाका अधिकांस निमावि र मावि तहमा शिक्षक अभाव देखिएको छ । मावि र निमावि तहमा ३ सय ३० जना शिक्षक अपुग रहेको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ । बिद्यार्थी र बिद्यालय संख्याको आधारमा सरकारले शिक्षक दरबन्दी व्यवस्था नगरेपछि शिक्षक अभाव भएको हो । दरबन्दी अनुसार शिक्षक अभाव भएपछी निजी श्रोतबाट पारिश्रमिक दिएर नियुक्ति गरिएका शिक्षकहरुले यँहा पढाइरहेका छन् । प्राविका शिक्षकहरु निमावि, मावि र माविका शिक्षकहरु उच्च मावि तह कक्षा ११ र १२ मा पढाइरहेका छन् । जिल्लास्थित विभिन्न सामुदायिक बिद्यालयको प्राथमिक तहमा शिक्षक दरबन्दी मिलान गरिएपनि शिक्षक अभाव भने कायमै रहेको हो । दरबन्दी मिलान गर्नको लागि यस अघि एक सय दुई जना शिक्षकको सरुवा गरिएको थियो । मावि तहमा १ सय १७ र निमाविमा २ सय १३ जना बिषयगत शिक्षक अभाव रहेको शिक्षा कार्यालयका शाखा अधिकृत रेवती पराजुलीले जानकारी दिए । हाल माविमा ७४ राहत दरबन्दी सहित २ सय २८ जना र निमाविमा ८२ जना राहतसहित २ सय ९३ जना शिक्षक कार्यरत छन् । सरकारको बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत हरेक गाविसमा एउटा मावि तहको बिद्यालय संचालन गर्ने नीति अनुरुप ६४ वटा बिद्यालय संचालित छन् । भोजपुरको ६३ गाविसमध्ये ५८ गाविसमा ६१ वटा सामुदायिक र ३ वटा निजी बिद्यालय संचालित छन् ।
खैराङ, थिदिंखा, गुप्तेश्वर, मूलपानी र तुङगेछा गाविसमा मावि तहका बिद्यालय हालसम्म संचालित छैन ।
कुलुङ, केउरेनीपानी, देउराली, नेपालेडाँडा, दोभाने र तिम्मा गाविसमा २÷२ वटा बिद्यालय संचालित छन् ।  शिक्षा कार्यालयको स्वीकृतिमा मावि तह संचालित सिन्द्राङस्थित शिशु शिक्षा मावि, चण्डेश्वर मावि पावला, लक्ष्मी मावि पाङ्चा, सरस्वती मावि यूँ, सावित्रा मावि बैकुन्ठे, कालिका मावि ओख्रे, चण्डेश्वर मावि नागी, तिम्मा मावि, पशुपति मावि तिम्मा, देवीथान मावि आम्तेक, तिवारीभञ्ज्याङ मावि, सूर्योदय मावि ठूलोदुङमा, सानोदुङमा मावि, महेन्द्रोदय मावि देउराली, ठोटनेरी मावि कुलुङ, जालपा मावि खाटाम्मा, इन्द्रावती मावि दोभाने लगायत १८ वटा प्रस्तावित मावि शिक्षक दरबन्दी विना संचालित छन् । पाँच बर्षअघि स्वीकृती पाएका बिद्यालयले केहीले राहत दरबन्दी पाएपनि अधिकांसले राहत दरबन्दी समेत पाएका छैनन् । सरकारले २०६६ सालदेखि शिक्षक दरबन्दी स्वीकृत नगरेकाले अभाव भएको हो ।  शिक्षक दरबन्दी अभावले पठनपाठनको गुणस्तर खस्किएको जिल्ला शिक्षा अधिकारी योगराज भटराईले बताए । प्राथमिक तह कक्षा १–३ मा २ जना, प्रावि १–५ मा ३ जना, निमावि ४ जना, माविमा ५ जना र बिषयगत शिक्षक हुनुपर्ने अनिबार्य व्यवस्था छ ।
हरेक कक्षामा ४० जना बिद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने व्यवस्था भएपनि प्राविमा एक जना शिक्षक बराबर ५ देखि २० जना बिद्यार्थी र माविमा एक जना शिक्षकले एउटै कक्षा कोठामा २ सय जनासम्म पढाउनुपर्ने बाध्यता छ । कतिपय बिद्यालयले सेक्सन छुट्याए पनि शिक्षक संख्या नभएपछि व्यवस्थापनमा समस्या भएको छ । बिद्यालयहरुले पठनपाठनको न्युनतम गुणस्तर सुधार नगरेकाले एसएलसी प्रबेशिका परीक्षाको नतिजा बर्षेनी खस्कने गरेको छ । यसबर्षको एसएलसी परीक्षामा सामेल ६५ मध्ये ७ वटा माविको नतिजा शुन्य छ । जिल्लाको शैक्षिक गुणस्तर सुधारका निम्ति शिक्षक दरबन्दी पूर्ति गर्नुपर्ने, नियमित पठनपाठन, राजनीतिक हस्तक्षेप मुक्त, निरीक्षण, अनुगमन, दण्ड पुरस्कारको व्यवस्था, शिक्षक, अभिभावक र बिद्यार्थी जिम्मेवार हुनुपर्ने पशुपति मावि खावाका प्रधानाध्यापक पूर्ण बहादुर राईको भनाई छ ।

No comments:

Post a Comment